अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असार ६ गते।
जेठ महिनाको शुक्ल पक्ष दशमी तिथिका दिन गंगा दशहरा पर्व मनाइन्छ ।
यस दिन हस्ता नक्षत्रमा गंगा नदी पृथ्वीमा अवतरण भएको विश्वास गरिन्छ । पौराणिक मान्यताअनुसार यस दिन गंगा स्नान गर्नाले विशेष फल प्राप्त हुन्छ तसर्थ यस दिन गंगा वा अन्य कुनै पवित्र नदी एवं तलाउको पूजा अर्चनाका साथ भगवान् शिवलाई जलाभिषेक गरिन्छ । यस दिनको दान तथा उपवासको विशेष महत्व छ ।
दस प्रकारका पापको नाश हुने भएका कारण यस दिनलाई दशहरा भनिएको हो । कायिक, वाचिक एवं मानसिक गरी तीन वर्गमा पर्ने दश प्रकारका पाप यस दिन गरिने पुण्य कार्यबाट सहजै नाश हुन्छन् ।
गंगाको महत्वका विषयमा स्कन्द पुराणमा लेखिएको छ- जेष्ठ शुक्ल दशमीलाई संवत्सरमुखी मानिएको हुँदा यस दिन स्नान र दानको विशेष महत्व छ । यसमा स्नान र दान रूपात्मक व्रत हुन्छ । कुनै पनि नदी वा तलाउमा गएर अघ्र्य तथा तर्पण गर्नु विशेष फलदायी हुन्छ । यसो गर्नाले पहापातक बराबरका दश पापहरू छुट्दछन् ।
भगीरथले अथक प्रयास गरेर ल्याएको गंगा आजसम्म पनि पृथ्वीमा रहेकी छिन् ।