पर्सामा जारी निषेधाज्ञा थप खुकुलो, सार्वजनिक बस जिल्लाभित्र सञ्चालन गर्न पाइने

अनलाईन न्युजपाटी,बिरगंज,समाचारदाता,असार २० गते।

पर्सामा जारी निषेधाज्ञालाई थप खुकुलो बनाइएको छ ।

जिल्ला कोभिड व्यवस्थापन समितिको आइतबार बसेको बैठकले थप खुकुलो गर्दै निषेधाज्ञालाई कायम राखेको छ ।

कोरोना संक्रमणको श्रृङ्खला तोड्न निषेधाज्ञा उपयोगी देखिएको भन्दै परिमार्जितसहित निषेधाज्ञा जारी राख्ने निर्णय समितिले प्रमुख जिल्ला अधिकारी समक्ष सिफारिस गरेको छ ।

केही परिमार्जनसहित जारी निषेधाज्ञालाई अर्को निर्णय नआउँदासम्मका लागि कायम राख्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिए । ‘सार्वजनिक बस जिल्लाभित्र सञ्चालन गर्न पाइने र होटल तथा रेष्टुरेन्टलाई आफ्नो कुल क्षमताको ५० प्रतिशत क्षमतामा सञ्चालन गर्न दिने गरी जारी निषेधाज्ञालाई परिमार्जन गरेका छौं,’ उनले भने, ‘दुवै सेवा सञ्चालन गर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रुपमा परिपालना हुनु पर्छ ।’

समितिले घर बाहिर निस्कदा एवं सार्वजनिक स्थलमा जाँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने र व्यक्ति–व्यक्तिका बीच कम्तीमा २ (दुई) मिटरको दुरी कायम गर्ने । भीडभाडजन्य कार्य नगर्न सर्वसाधरणलाई आग्रह गरेको छ ।

बढीमा २५ जना सम्मको उपस्थितिमा विवाह, ब्रतबन्ध/नामाकरण संस्कार जस्ता कार्यसञ्चालन गर्न सकिने प्रशासनको निर्णयमा उल्लेख छ । सामाजिक संस्कारका कार्य तथा उद्योग, कलकारखाना सञ्चालन, सार्वजनिक विकास निर्माण, पेशा व्यवसाय सञ्चालन गर्दा स्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालना गर्नुपर्ने समितिको निर्णयमा उल्लेख छ ।

वीरगञ्ज महानगरपालिकाले असार १५ गतेदेखि नै विद्यार्थीको भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने तयारी गरेको थियो । अभिभावकको लिखित सहमतीमा कक्षा ८ देखि १२ लाई स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराई भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने महानगरको तयारी थियो । तर स्थानीय प्रशासनले निषेधाज्ञामा शैक्षिक संस्था सञ्चालनमा रोक लगाएका कारण कार्यान्वयनमा आउन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *