अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,साउन ५ गते।
प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारि चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि शुरु हुँदैछ ।
एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ ।
हिन्दू धर्मावलम्बीका लागि महत्वपूर्ण दिनका रुपमा लिइने यो दिन निराहार व्रत बसी भगवान् श्रीविष्णु(हरि) र तुलसीको पूजा अर्चना गरेमा आफ्नो मनोकामना पूरा हुने जनविश्वास छ ।
वैदिक सनातन धर्म र संस्कृतिमा हरिशयनी एकादशीको ठूलो महत्व रहेको छ ।
हिन्दू समाजमा यस दिनलाई महत्वपूर्ण पर्वका रूपमा लिइन्छ । आजका दिनदेखि चतुर्मास व्रत सुरु हुन्छ । आज घरघरमा तुलसी रोप्ने चलन छ ।
आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउँछन् । भगवान् विष्णु शयन गर्ने चार महिनालाई चतुर्मासा पनि भनिन्छ ।
एक वर्षमा २४ एकादशी पर्छन् ।
हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि राजधानीको बूढानीलकण्ठ, उपत्यकाका चार नारायणलगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड लाग्ने गरेकामा कोरोनाका कारण मन्दिर बन्द गरिएको छ । भगवान् नारायणका मुख्य मुख्य मन्दिर बन्द गरिएपनि विभिन्न स्थानमा छरिएर रहेको मन्दिरमा भने भक्तजनको भीड लाग्छ ।
वैज्ञानिक रुपमा पनि बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रुपमा प्रयोग गरिन्छ । तुलसीको मोठ भएका स्थानमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वास गरिन्छ । वास्तु दोष भएका स्थानमा तुलसीको मोठ राख्नाले सकारात्मक फल प्राप्त हुने मान्यता छ । तुलसी भएका स्थानमा शुद्ध हावा बहने तथ्य वैज्ञानिक रुपमा पुष्टि भएको छ ।
चार महिनासम्म विधिपूर्वक पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि छ । तुलसी र दामोदरको विधिपूर्वक विवाहपछि अग्निस्थापना विधिबाट चतुर्मासा व्रतको उद्यापनका लागि हवनसमेत गरिन्छ ।