अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,साउन १५ गते।
साउन १५ गते आज नेपालमा खिर खाएर मनाइँदै छ ।
साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको हो । दूधमा मरमसलालगायत चिजबिज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ ।
संस्कृत भाषामा पायस भनिने खिर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि यसलाई महत्वपूर्ण वस्तुका रुपमा वैदिक शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्षले बताए ।
साउन भगवान् शिवको महिना हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खिरलगायत मिठाइ विधिपूर्वक चढाइन्छ । यसैले गर्दा साउनको मध्य पारेर खिर खाने प्रचलन चलेको हुनसक्ने धर्मशास्त्रविद्ले बताए ।
चामल, सावधाना, सेवइ, मकै, गाजरलगायतको खिर बनाउने गरिन्छ । सावधानालाई फलफूलकै वर्गमा राखिन्छ । यसैगरी साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खिरसमेत बनाएर खाने चलन छ । खिर खाँदा देवतालाई चढाएर खानुपर्छ भन्ने धार्मिक विश्वास रही आएको छ ।
वर्षा ऋतुका बेला असार १५ गते दही, च्युरा र साउन १५ मा खिर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ ।