साउन अन्तिम सातादेखि लाइसेन्सको ट्रायल परीक्षा पुनः सञ्चालन गर्ने तयारी

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,साउन १८ गते।

यातायात व्यवस्था विभागले यही साउन अन्तिम सातादेखि लाइसेन्सको ट्रायल परीक्षा पुनः सञ्चालन गर्ने तयारी गरेको हो।

कोरोना संक्रमण बढेसँगै सरकारले निषेधाज्ञा जारी गरेपछि गएको वैशाखदेखि ट्रायल परीक्षा बन्द गरेको थियो। लिखित परीक्षा उतीर्ण गरेका हजारौँ सवारी चालक सवारी साधनको ट्रायल परीक्षा दिने प्रतिक्षामा बसेका छन्।

विभागले यसअघि नै लाइसेन्सको ट्रायल परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो। तर, कोरोना संक्रमण रोकथामका लागि जारी निषेधाज्ञा पूर्णरूपमा नहटेको भन्दै यातायात कार्यालयले ट्रायल खुलाउन नसकिने भन्दै रोकेको थियो। निषेधाज्ञा खुकुलो भएसँगै विभागले अब ट्रायल परीक्षा पनि सञ्चालनको तयारी गरेको हो।

अनलाइन प्रणालीमार्फत ट्रायल परीक्षाका लागि आवेदन दिनेहरूले पालो कुरिरहेको बेला कोरोनाको दोस्रो लहर सुरु भएपछि पुनः ट्रायल परीक्षा बन्द गरिएको थियो।

विभागले ट्रायल परीक्षा खुलाएसँगै लाइसेन्स लिनको लागि नयाँ व्यवस्थासमेत लागू गर्ने तयारी गरेको छ। लाइसेन्स परीक्षा प्रणालीमा शतप्रतिशत अंक ल्याए मात्रै पास हुने व्यवस्थालाई परिमार्जन गरी अब ७० प्रतिशत अंक ल्याए पास हुने व्यवस्था गर्न लागिएको विभागले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *