अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ २० गते।
मनसुनी वायुको प्रभाव कायमै रहँदा आज पनि देशका अधिकांश भू-भागमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभाग भन्दा केही तल रहँदा मुलुकभर हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी पूर्वानुमानमा उल्लेख छ ।
यस्तै, आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।
अब मंगलबारसम्म नै ठाउँठाउँमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।