अनलाईन न्युजपाटी,कैलाली,समाचारदाता,भदौ २७ गते।
आज थारु समुदायले अटवारी पर्व मनाउँदैछन् ।
धार्मिक एवं सांस्कृतिक महत्व बोकेको सो पर्व तीजपछिको पहिलो आइतबारमा व्रत बस्ने र सोमबार सकिने गर्दछ ।
बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र दाङ जिल्लामा बसोबास गर्ने ती समुदायले माघीपछिको ठूलो पर्वका रुपमा यसलाई मनाउने गर्दछन् ।
स्थानीय सरकारहरुले अटवारी पर्वको अवसरमा थारु समुदायलाई सार्वजनिक विदा दिने गर्दछन् ।
यो पर्वमा विशेष गरी दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै दिनभर व्रत बसी साँझपख भीमको पूजा गर्दछन् । व्रतपछि गहुँको पीठोबाट बनाइएका परिकार र फलफूल चढाई दिदीबहिनीको भाग छुट्याएर बचेको आफूले खाने चलन छ । दिदीबहिनीका लागि छुट्याइएको भागलाई ‘अग्रासन’ भनिन्छ । अग्रासन दाजुभाइले दिदीबहिनीको घरमै पुर्याइदिने गरिन्छ । अग्रासन दिएर फर्किने क्रममा दिदीबहिनीहरुले दाजुभाइलाई मनपर्ने खानेकुरा खुवाउने र उपहार दिने चलन पनि छ ।