नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,मंसिर २१ गते।  

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण नेपालमा पनि पुष्टि भएको छ ।

नेपालमा पनि आइतबार राति टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा दुई व्यक्तिमा सो भेरियन्ट देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।

एक जना ६६ वर्षीय विदेशी नागरिक र उनीसँग सम्पर्कमा रहेका ७१ वर्षीय अर्का नेपाली नागरिकमा यही मंसिर १९ गते ओमिक्रोन संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार उनीहरूको मंसिर ७ गते परीक्षण गरिएको थियो ।

दुवै जनाले कोरोना भाइरस विरूद्धको खोप पनि लगाएका थिए । गत मंसिर ३ गते नयाँ भेरियन्ट पुष्टि भएको देश हुँदै ६६ वर्षीय विदेशी नागरिक त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हुँदै नेपाल प्रवेश गरेका थिए । नेपाल आउँदा नियमानुसार पीसीआर रिपोर्ट नेगेटिभ तथा खोपको मात्रा पूरा गरेको पाइएको थियो ।

तर कोभिड-१९ सँग मिल्दाजुल्दा लक्षणहरु देखिएको थियो । त्यसपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा जिन सिक्वेन्सिङ विधिबाट परीक्षण गर्दा  मंसिर १९ गते ओमिक्रोन नेपालमा पहिलो पटक पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले बताए ।

हाल दुवै जना सरकारले तोकेको मापदण्ड अनुसार आइसोलेसनमा छन् । हाल उनीहरुमा कुनै लक्षणहरु नदेखिएको र स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ। ती दुई व्यक्तिहरुसँग सम्पर्कमा आएका ६६ जनाको कन्ट्याक्ट ट्रेसिङ गर्दा सबैको नतिजा नेगेटिभ आएको र सबै स्वस्थ रहेको पाइएको सहप्रवक्ता अधिकारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *