अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता, माघ २३ गते।
जनकपुरधाममा राखिएको नेपाली रेल आगामी फागुन १ गतेदेखि गुडाइने भएको छ । तर तत्काल यात्रा गर्न भने पाइने छैन ।
जनकपुरदेखि जयनगरसम्म रेल चलाउन लागिएको हो। औपचारिक रूपमा रेल उद्घाटन गरेपछि मात्रै यात्रु बोक्न थालिनेछ।
अहिले सर्वसाधारणलाई सचेतनाका लागि रेल चलाउन लागिएको छ। दिनमा एक पटक रेल चलाउने तयारी छ।
यात्रु नबोकी फागुन १ देखि दिनमा एकपटक रेल चलाउन लागिएको रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए।
उनकाअनुसार जयनगरदेखि जनकपुर उपमहानगरस्थित कुर्थासम्म रेल सञ्चालन गर्न लागिएको छ।
अहिले प्रत्येक स्टेशनमा इन्टरनेट, टेलिफोन, संचार सुविधा लगायतका व्यवस्थापन भइरहेको पनि उनले बताए।
रेल सेवाको औपचारिक उदघाटनको मिति तय भएको छैन।
नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा रेल उद्घाटन गर्ने तयारी छ। फागुन ११ गतेभित्र भर्चुअल रूपमा कार्यक्रम गरी रेल उद्घाटन गर्ने तयारी छ।