अनलाईन न्युजपाटी,ऐजेंसी,समाचारदाता, फाल्गुन १० गते।
बेलायतमा कोभिड सम्बन्धि सबै प्रतिबन्धहरु हटाउने भएको छ।
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार साँझको पत्रकार सम्मेलनमा उक्त कुराको पुष्टि गरेका हुन् । उनले कोरोना संक्रमण पुष्टि भएका मानिसले इमान्दारीपूर्वक घरमा नै आइसोलेसनमा बस्नुपर्ने बताए।
आउँदो बिहीबारदेखि कोरोना संक्रमित भएपनि आइसोलेशन बस्न पर्ने कानूनी बाध्यता रहने छैन ।
यसैगरी हाल लागू गरिएको भ्याक्सिन पासपोर्ट पनि खारेज हुने भएको छ । हाल निशुल्क रुपमा उपलब्ध गराउँदै आएको कोरोना परीक्षणको व्यवस्था पनि हटाइने भएको छ । तर, जोखिममा रहेका ८० वर्ष माथि उमेर भएका र केयर होममा रहेका मानिसको हकमा उक्त नियम यथावत नै रहनेछ ।
ओमिक्रोनको पिक समय सकिएकाले सर्वसाधारणले आफैले आफ्नो जिम्मेवारी बहन गर्न प्रधानमन्त्रीले आग्रह गरेका छन् । महामारीको अन्त भएको छैन, भाइरस अझै कायमै रहेकाले आफ्नो सुरक्षा आफैले सावधानीपूर्वक गर्न पनि उनको अनुरोध छ ।