अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,फाल्गुन १९ गते।
मधेश प्रदेशको धनुषा जिल्लास्थित ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका एक प्रहरी ईन्सपेक्टरले आफ्नै महिला प्रहरी कर्मचारीमाथि दुरव्यवहार गरेको खुलेको छ ।
जनकपुरको रमदैया भवाडीस्थित रहेको जानकी मेडिकल कलेजमा सुरक्षार्थ खटिएका महिला प्रहरीलाई ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज प्रहरी निरीक्षक बेचन यादवले दुर्व्यवहार गरेको भन्दै उनीमाथि छानबिन भईरहेको बताइएको छ ।
जानकी मेडिकलमा सञ्चालन भइरहेको परीक्षाको सुरक्षार्थ खटिएका महिला प्रहरीलाई भीडभाडमै बर्दी तानेर भित्री लुगामा हात लगाएको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको हो ।
ड्युटीको क्रममा इन्सपेक्टर यादवले पटक पटक गलत नियतले शरीरका अंगहरूमा हात लगाउने तथा अपमानजनक व्यवहार गर्ने गरेका र परीक्षा केन्द्रमा खटिएको बेला बर्दी तानेर भित्री वस्त्रमा हात लगाएको पीडित महिला प्रहरीले उजुरीमा उल्लेख गरेकी छन् ।
तर, प्रहरी निरीक्षक यादवले भने ड्युटीको समयमा ननिदाउन र राम्रोसँग लुगा लगाउन मात्रै आफूले आग्रह गरेको जिकिर गरेका छन् ।
जिल्ला प्रहरी कार्यालयमा प्रहरी निरीक्षक यादव विरुद्ध महिला प्रहरीले दिएको उजुरीको छानबिन भईरहेको प्रहरी उपरीक्षक बसन्त रजौरेले बताएका छन् ।