अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,चैत्र ७ गते।
राप्रपाले यही चैत २५ गते काठमाडौँको खुलामञ्चमा आमसभा गर्ने भएको छ ।
आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै राप्रपाले राजधानीमा आमसभा गर्न लागेको हो ।
पार्टीको बागमती प्रदेश समितिको आयोजनामा हुने आमसभा राप्रपाको शक्ति प्रदर्शनको रूपमा रहने पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुखले बताए ।
आमसभालाई भव्य र व्यवस्थित बनाउन प्रदेश अध्यक्ष विक्रम बहादुर थापाको संयोजकत्वमा ५५५ सदस्यीय आयोजक समिति गठन गरिएको उनले जानकारी दिए । समितिमा काठमाडौं, ललितपुर र भक्तपुरका अध्यक्षहरू सहसंयोजक र केन्द्रीय सदस्य आशा लामा सदस्य सचिव रहेका छन् ।
समितिमा बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाका अध्यक्षहरू, बागमती प्रदेश कार्यसमितिका पदाधिकारी, सदस्यहरू, प्रदेश भित्रका भातृ सङ्गठनका केन्द्रीय तथा जिल्ला समितिका पदाधिकारी, सदस्यहरू, प्रतिनिधि सभा, प्रदेश सभा, महानगर, नगर र गाउँपालिकाका अध्यक्षहरू पनि रहेका छन् ।