अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,चैत्र १६ गते।
आज प्रधानमन्त्री शेरबहादुर देउवाले बहु क्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको प्रयास (बिमस्टेक) को सम्मेलनलाई सम्बोधन गर्ने भएका छन्।
प्रधानमन्त्री देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारबाट आज बिहान ९ बजे भर्चुअल रूपमा बिमस्टेक सम्मेलनलाई सम्बोधन गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
बिमस्टेक सम्मेलनमा सहभागी हुन भने परराष्ट्र मन्त्री नारायण खड्का श्रीलङ्काको राजधानी कोलम्बो पुगिसकेका छन्।
मन्त्री खड्का बिमस्टेकका परराष्ट्र मन्त्री स्तरीय बैठकमा सहभागी भएका थिए। बैठकमा श्रीलङ्कासहित बङ्गलादेश, भारत, भुटान, नेपाल र थाइल्यान्डका मन्त्रीहरू सहभागी थिए भने सैनिक शासन लागु भएको म्यानमारका विदेश मन्त्री भर्चुअल रूपमा सहभागी भएका थिए।
श्रीलङ्कामा बुधवार बिमस्टेकको पाँचौँ शिखर सम्मेलन हुँदैछ। राष्ट्रपति गोटवाया राजापाक्षेले अध्यक्षता गर्ने शिखर सम्मेलनमा सदस्य राष्ट्रका सरकार र राष्ट्रप्रमुख भर्चुअल्ली सहभागी हुनेछन्।
प्रधानमन्त्री देउवाले पनि शिखर सम्मेलनमा भर्चुअल्ली सम्बोधन गर्ने कार्यक्रम छ। म्यानमारका तर्फबाट भने शिखर सम्मेलनमा पनि विदेश मन्त्री नै सहभागी हुने बताइएको छ।