अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,वैशाख २३ गते।
स्थानीय तह निर्वाचनका लागि छापिएका सबै मतपत्र ढुवानीको काम आज सकिने निर्वाचन आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मधेस प्रदेशका जिल्ला बाहेक सबै जिल्लामा मतपत्र ढुवानी भइसकेको हो ।
आयोगका अनुसार हरियो रंगको मतपत्रमा चुनाव चिह्न कालो रंगका छन् । मतपत्रमा सबैभन्दा माथि राष्ट्रिय पार्टीका चुनाव चिह्न राखिएको छ । त्यसपछि जिल्लामा क्रियाशील राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारका चुनाव चिह्नहरु छन् ।
मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र मतगणना कर्मचारीलाई अति जरुरी मानवीय र संवेदनशील कारण परेको अवस्थामा बाहेक खटिएका कर्मचारीलाई फेरबदल नगर्न र उपयुक्त कारण परेको अवस्थामा बाहेक कुनैपनि कर्मचारीले निर्वाचनको काममा खटिन इन्कार गरेमा प्रचलित कानून बमोजिम कारबाही गर्न पनि मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरुलाई आयोगले निर्देशन दिएको छ ।