अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,जेठ १९ गते।
तराईका भू–भागमा आउँदो पाँच दिन तातो हावा तथा ‘लु’ लाग्न सक्ने मौसम पूर्वानुमान महाशाखाले चेतावनी जारी गरेको छ ।
मध्य तराईका जिल्लाहरुमा तापक्रम अत्यधिक बढेकाले लू को खतरा बढेको भन्दै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन सुझाव दिएको छ ।
पहाडी भू–भागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिकरूपमा बढ्न सक्ने सम्भावना रहेकोले सचेत रहन महाशाखाले अनुरोध गरेको छ ।
काठमाण्डौको अधिकतम तापक्रम ३२ दशमलव ३ डिग्री सेल्सियस पुगेको छ भने सीमरा, जनकपुरलगायतका ठाउँको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ ।
तातो हावा तथा ‘लु’ का कारण थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने महाशाखाले जनाएको छ । ‘लु’ तथा गर्मीको समस्याबाट बच्न याे समयमा सकेसम्म बाहिर ननिस्कन, हल्का लुगा लगाउन, बाहिर निस्कनै परे टाउको छोप्न, टोपी लगाउन, पटक–पटक पानी तथा जुस, सर्बतलगायतका झोल पदार्थ प्रशस्त मात्रामा पिउन र स्वास्थ्यमा समस्या भएमा तत्कालै स्वाथ्यकर्मीसँग सम्पर्क गर्न महाशाखाले अनुरोध गरेको छ ।