अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता, पौष ९ गते
तराईका धेरै ठाउँमा बाक्लो हुस्सु र कुहिरोले जनजीवन प्रभावित बनेको हो ।
हुस्सु, कुहिरो र सम्भावित शीतलहरको जोखिमलाई ध्यानमा राखेर राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सरोकारवाला निकायलाई पूर्वतयारी र प्रतिकार्यमा लाग्न निर्देशन दिएको हो ।
यदि पालिका र जिल्ला विपद् व्यवस्थापन समितिको पहलले मात्र सम्भव नभएमा प्रदेश र संघ सरकारसँग सहयोग माग्न समेत अनुरोध गरिएको छ । विज्ञप्तिमार्फत प्राधिकरणले न्यानो लुगा र उपकरणको व्यवस्था गरी विपन्न परिवारलाई वितरणको व्यवस्था मिलाउन, आवश्यक सूचना पुर्याउन, शीतलहरबाट जोगिन सचेतना कार्यक्रम गर्न, जोखिममा रहेका व्यक्तिका लागि सार्वजनिक भवन, मठमन्दिर वा घरमा न्यानो गरी बस्ने प्रबन्ध मिलाउन, दाउराको व्यवस्थासहित अरु उपायहरु अपनाउन सूचित गरिएको छ ।
तराईका सबैजसो ठाउँमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही दिन लम्बिने भएको छ । जल तथा मौसम विज्ञान विभागले बाक्लो हुस्सु र कुहिरो कम्तीमा अझै तीन दिन कायम रहने जनाएको छ । यसबाट जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्ने हुँदा आवश्यक सावधानी अपनाउन विभागले पनि सबैमा अनुरोध गरेको छ । यस्तो अवस्थामा न्यानो भएर बस्न तथा तातो झोलिलो खानेकुरा खान सल्लाह छ ।