अनलाईन न्युजपाटी,पर्सा,समाचारदाता, पौष २२ गते।
आफ्नै छोरीको हत्या गरेको आशंकामा प्रहरीले पर्साको पोखरिया नगरपालिका–९ की शिवकला देवीसहित चार जनालाई पक्राउ गरेको छ ।१५ बर्षिय किशोरी पुनिता कुमारीको हत्या गरी २ किलोमिटर नजिकै गाडेको सूचना प्रहरीले पाउनासाथ जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयको टोलीले सोमबार साँझ अनुसन्धानका क्रममा चार जनालाई पक्राउ गरेको हो ।मृतकका बाबु वीरेन्द्र महतो भने फरार रहेका छन् । मृतकको लाश जलाएको अवस्थामा रहेको थियो तर शरिरका आंशिक भाग फेला पारी अनुसन्धान जारी राखिएको पर्साका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।मृतककी आमासहित राजेन्द्र महतो तत्वा, सन्तोष महतो तत्वा र जीतेन्द्र यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखिएको प्रहरीले अनलाईन न्युजपाटीलाई जनाएको छ । हत्या किन र के कारणले गरिएको भन्ने विषयमा छानबिन जारी रहेको प्रहरीले जनाएको छ ।