अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पौष २९ गते।
यात्रुहरुको बढ्दो चाप र मांग अनुसारको सेवा दिने प्रतिबद्धताका साथ निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले माघ १ गतेदेखि जनकपुरमा नियमित उडान शुरु गर्ने भएको छ । केही महिना अघि मात्र भित्र्याएको नयाँ टर्बोप्रोप क्यु–४०० जहाजमार्फत जनकपुर उडान गर्न लागको श्री एयरका जनकपुरका स्टेशन म्यानेजर रवि कुमार शर्माले अनलाईन न्युजपाटीलाई बताए छन् ।
उनका अनुसार जनकपुर–काठमाडौँको उडान भर्ने विमान ८० सिट क्षमताका रहेका छन् । अरु विमानसेवाले २५ मिनेटमा जनकपुरदेखि काठमाडौँ पुर्याउँदै आएकोमा श्री एयरलाइन्सले मात्र १८ मिनेटमा पुर्याउने स्टेशन म्यानेजर शर्माको भनाइ छ ।
यो सँगै जनकपुरमा नियमित उडान भर्ने एयरलाइन्स कम्पनीको संख्या ३ पुगेको छ । यसअघि बुद्ध एयर र यती एयरले नियमित उडान भर्दै आएको थियो । श्री एयरले न्युनतम २ हजारभन्दा कम र अधिकतम ४३ सय रुपैँया टिकेटको मूलय तोकेको स्टेशन म्यानेजर शर्माले बताए । यसअघि काठमाडौँ–जनकपुर उडान भर्नका लागि श्रीएयरलाइन्सले गत मंसिर १५ गते जनकपुर र सिमरामा परीक्षण उडान गरेको थियो । श्रीले अहिले भद्रपुर, विराटनगर, भैरहवा, नेपालगञ्ज र धनगढीमा उडान भर्दै आएको छ । कम्पनीले निकट समयभित्रै सिमरा र पोखरामा पनि उडान भर्ने तयारी गरेको छ । श्री एयरलाइन्ससँग सिआरजे २०० र दुई सिआरजे ७०० गरी पाँच जहाज छन् ।