अनलाईन न्युजपाटी,सर्लाही,समाचारदाता,माघ १६ गते।
सरकारसँग भएको सहमति अनुसार उखुको बक्यौता रकम नपाएपछि सर्लाहीका उखु किसानले फेरी काठमाण्डौं गएर आन्दोलन गर्ने तयारी गरेका छन् ।
जिल्लामा पटक–पटक आन्दोलन गर्दा पनि विगतका वर्षहरुमा चिनी मिललाई बिक्री गरेको उखुको पैसा नपाएपछि सर्लाहीका उखु किसान पौष महिना काठमाण्डौंस्थित माइतीघर पुगेर धर्नामा बसेका थिए । उखु किसान पौषको चिसोमा कठ्यांग्रिएर उखुको भुक्तानि माग्न धर्नामा बसेपछि सरकारले पुस १८ गते पाँच बुँदे सहमति गर्दै माघ ७ गतेभित्र चिनी उद्योगीबाट सबै पुरानो बक्यौता भुक्तानि गराउने प्रतिवद्धता जनाएको थियो ।
उद्योगमन्त्री लेखराज भट्ट आफैले सहमति गरी आन्दोलन स्थगित गराई किसानलाई घर फर्काएका थिए । सरकारको दिएको मितिमा भुक्तानि पाउने आशमा उखु किसान घर फर्किएका थिए । तर मध्य माघ भइसक्दा समेत किसानले जिल्लाको अन्नपूर्ण चिनी उद्योग धनकौल र महालक्ष्मी चिनी उद्योग बगदहबाट पूरा भुक्तानि पाएका छैनन् । आन्दोलन गर्न काठमाण्डौं गएका केही किसानको खातामा उद्योगीले पैसा हाल्दिए पनि अन्य किसानले पैसा पाउन सकेका छैनन् ।
किसानको आन्दोलनपछि अन्नपूर्णले ४२ करोड बक्यौतामध्ये तीन करोड ९० लाख र महालक्ष्मीले २१ करोड ४० लाखमध्ये ११ करोड ५० लाख रुपैयाँ मात्रै भुक्तानि गरेको दाबी गरिएको छ । अन्नपूर्णले अझै ३८ करोड र महालक्ष्मीले १० करोड बक्यौता भुक्तानि गर्न बाँकी छ ।
नगदे बाली उखु बेचेको पैसा लिन यसरी पटक–पटक आन्दोलन गर्नुपर्ने बाध्यताले उखु किसानमा निराश बढ्दै गएको छ । जिल्लाको उत्तरी भेगको इन्दुशंकर चिनी उद्योगले गत वर्षको भुक्तानि गरिसकेकाले उत्तरी भेगका किसानलाई खासै समस्या छैन् । तर दक्षिणी भेगका किसानलाई अन्नपूर्ण र महालक्ष्मी चिनी उद्योगले भुक्तानि नदिँदा व्यवहार धान्नै मुस्किल परिरहेको छ ।