अनलाईन न्युजपाटी,सप्तरी समाचारदाता,माघ २० गते।
सप्तरीको सुरुङ्गा नगरपालिका–७ हरिपुरमा सरस्वती पूजाको प्रसाद खाँदा आज ६७ जना बालबालिका बिरामी परेका छन् । त्यहाँ रहेको राष्ट्रिय प्राथमिक विद्यालयका बालबालिकाहरुले सरस्वती पूजाका प्रसाद खाँदा बिरामी परेको सुरुङगा नगरपालिकाका प्रमुख मुक्तिनाथ चौधरीले अनलाईन न्युजपाटीलाई बताए ।
उनका अनुसार सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरु मूर्ति विसर्जनपछि सरस्वती पूजाको प्रसाद खाँदा विद्यार्थी तथा अभिभावहरु एक्कासी बिरामी भएको नगरपालिका प्रमुख चौधरीले जानकारी दिए ।एक दिन पहिले बनाएको बासी तरकारी र बुनियाको प्रसाद खाँदा ‘फुड प्वाइजनिङ’ भएर बालबालिका बिरामी भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख बुनिलाल यादवले पनि अनलाईन न्युजपाटीलाई बताए ।
प्रमुख यादवका अनुसार अहिले सम्म ६७ जना फुड प्वाइजनिङ भएर बिरामी परेका बालबालिका तथा अभिभावकलाई स्थानीय स्वास्थ्य चौकीमा उपचार थालिएको बताए ।बिरामीको स्थानीय स्वास्थ्य संस्थामा चाप बढेपछि त्यहाँको विद्यालयमा राखेर जिल्ला स्वास्थ्य कार्यालय सप्तरीबाट गएको स्वास्थ्यकर्मीको टोलीले उपचार थालिएको स्वास्थ्य कार्यालयका प्रमुख यादवले भने ।नगरपालिकाको ११ वटै वडाका स्वास्थ्यकर्मी हरिपुरमा भेला भएर उपचार थालिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।