अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,फाल्गुन०९ गते।
पशुपतिनाथ मन्दिरको मुख्य प्रवेशद्धार नै फूलको बनाइएको छ, जसमा आकर्षक ढंगले ॐ नमः शिवाय देखिएको छ । शिवलिंगदेखि शिवको बहान साँढे समेत फूलैफूलले बनाइएको छ । मन्दिरको मूल गेटसमेत फूलले सजाइएको छ । आकर्षक तरिकाले सजाइएको फूललाई सेल्फी खिच्नेहरुको भीड नै लागेको छ । पशुपति क्षेत्रलाई सजाइएका फूलहरु थाइल्याण्ड, अस्ट्रेलिया तथा भारतको मुम्बईबाट ल्याइएको हो । यसमा झण्डै २ करोड रुपैयाँ खर्च भएको अनुमान छ । शिवरात्रिको अवसरमा आज पशुपति क्षेत्रमा दर्शनार्थीको बाक्लो उपस्थिति रहेको छ । शिवरात्रिमा पशुपति क्षेत्रमा दर्शन गर्नबाहेक गाँजा खान जानेको पनि बाक्लो उपस्थिति रहने गरेको छ ।
पशुपति क्षेत्रबाट गाँजा खाने, हुलदंगा गर्ने र पाकेट मार्न खोज्ने ४५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।भारतबाट आउने बाबाहरु खुलेयाम गाँजा विक्री गरिरहेको भेटिन्छन् । बाबाहरुलाई भने गाँजा सेवन गर्न कुनै प्रतिबन्ध गरिएको छैन तर अन्यको हकमा सेवन तथा विक्री वितरणमा रोक लगाइएको छ ।