अनलाईन न्युजपाटी,मकवानपुर,समाचारदादाता,चैत ११ गते।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले हीरा लुटपाटमा संलग्न रहेको आरोपमा तीन जना प्रहरी र एक जना पत्रकारलाई पक्राउ गरेको छ ।प्रहरीका अनुसार जिल्लाको विकट क्षेत्र कैलाश गाउँपालिका–५, चौकीटार गोगनेकी धनलक्ष्मी गुरुङको घरमा हीरा खरिद गर्ने बहानामा पुगेका प्रहरी र पत्रकारले आइतबार साँझ लुटपाट गरेका थिए । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका भैंसेपाटी निवासी १९ वर्षीय सुजन आचार्य, सुर्खेत वीरेन्द्रनगर– १२ का २६ वर्षीय सुरेन्द्र बसेल, जाजरकोट शिवालय–२ का २७ वर्षीय वीरबहादुर बस्नेत र दाङ सिजुवा गाउँपालिका–१ का २८ वर्षीय हिमकान्त पुन मगर रहेका छन् ।जिल्ला प्रहरी प्रमुख एसपी सुरेशसिंह राठौरले पक्राउ परेका आचार्य पत्रकार तथा बसेल, बस्नेत र पुन मगर प्रहरी भएको जानकारी दिए । हीरा लुटपाट भएको प्रहरीलाई जानकारी आएपछि इलाका प्रहरी कार्यालय पालुङको टोलीले उनीहरूलाई पक्राउ गरेको एसपी राठौरले बताए । प्रहरीका अनुसार उनीहरूको साथबाट ६१.३० क्यारेटको १२.२६० ग्रामको हीरा एक थान, जीइएम आइडेन्टिफिकेसन रिपोर्ट, चाइनिज पेस्तोल एक थान, ७ राउण्ड गोली, सञ्चार सेट चार थान, क्यामेरा एक थान, ल्यापटप एक थान र मोबाइल ६ थान बरामद भएको छ ।