अनलाईन न्युजपाटी, जनकपुरधाम,समाचारदाता,चैत्र १७ गते ।
कोरोनाले प्रभावित बनेको चैती छठ पुजा गर्ने जनकपुरधामका प्रमुख सरोबर गंगा सागर ,धनुष सागर, सहित अन्य सरोबरहरुका घाट पुर्ण रुपले सुनसान बनेको छ । भक्तजन र भगवान प्रति श्रद्धाको अगाडी कसैको केहि चल्दै नभने जस्तो आज जनकपुरधाममा देखियो । चैती छठको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यदेवतालाई अर्घ दिइएको छ । लकडाउनको कारण यसवर्ष जनकपुरधाम लगायत मिथिलाञ्चलमा घर–घरबाटै अस्ताउँदो सूर्य अर्थात दिनानाथलाई अर्घ दिइएको छ । भोली मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि चैती छठपर्व विधिवत समापन हुने छ ।
कोरोना संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनको कारण यसवर्ष घर–घरमै चैती छठ मनाइँदै छ । घर घरमै भाँडो पानी राखेर अथवा खानेपानीको श्रोत रहेको कल, इनार भएको स्थानमा पूजा सामग्री राखेर साँझको अस्ताउँदो सूर्यलाई ब्रतालुहरुले अर्घ दिएका हुन् । आजका दिनमा विशेष चहलपहल हुने जनकपुरधाम कोरोनाले सुनसान बनेको छ ।