अनलाईन न्युजपाटी,काठमाडौँ समाचारदाता ,चैत्र २८ गते।
लकडाउनको पालनामा कडाइ गरिएपनि रातारात हिँडेरै काठमाडौँ उपत्यका छाड्ने क्रम नरोकिएको प्रहरी र प्रशासनले जनाएको छ। काठमाडौँ छोड्दै गरेका नेपालीहरूले सानाठूला समूहमा विभाजित भएर केही दिन हिँडेरै घर पुग्न खोजेको बताएका छन्।
लकडाउनपछि रोजगारी गुमेको र काठमाडौँमा बस्दा खर्च पनि सकिएकोले “न त खाने व्यस्था, न त् जाने व्यस्था यो सरकारले गर्न सक्यो” त्यसैले आफूहरू उपत्यका छाड्न बाध्य भएको उनीहरूले बताएका छन्। चितवन हुँदै बाहिरिनेको सङ्ख्या कम भए पनि पैदलयात्रीहरू आउने क्रम रोकिएको छैन। पैदलयात्रुले राजमार्गभन्दा जङ्गलको बाटो वा अन्य वैकल्पिक बाटोको समेत प्रयोग गरेर बाहिरिएको हुन सक्ने अनुमान छ।
तर पैदलयात्रुहरु कोरोनाभाइरसको जोखिम कम नभएसम्म सरकारले लकडाउन थप्न सक्छ भनेर राशन सकिएकोले कुनै विकल्प बाँकी नरहेकोले काठमाडौँ छाडेको बताउँछन्। बाँके जान लागेका राप्ती सुनारीका उपेन्द्र चौधरीले भन्छन्, हामी काठमाडौँदेखि हिँड्दै आएका हौ।
अब कसैले बाटोमा लिफ्ट दिए चढ्ने हो नत्र हिँडेर घर पुग्ने योजना छ। चार दिनमा त घर पुगिएला। उनीसँगै रहेका अन्य सात जना पनि बाँके, बर्दिया र दाङ घर भएका रहेको चौधरीले बताए। त्यसैगरी झापा, काठमाडौँ र धादिङबाट पश्चिमको बाँके, बर्दिया, कञ्चनपुर र दाङ तथा पूर्वको सिन्धुली र रौतहटतर्फ सयौँको सङ्ख्यामा चितवन हुँदै घरतर्फ जानेको सङ्ख्या ठूलो रहेको प्रहरीले बताएको छ।