अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, बैशाख ३० गते
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथामका लागि भारतमा लागु गरिएको लकडाउनका कारण रोकिएको रेल सेवा आजबाट (१२ मई) सुरु भएको छ । रेल मन्त्रालयले राजधानी दिल्लीसहित १५ शहरहरुमा रेल सेवा सुरु गरेको हो ।
भारतीय रेल मन्त्रालयले सेवाको तालिका सार्वजनिक गरेपछि सोमबारदेखि नै अनलाइनमार्फत् टिकट बुकिङ जारी छ । यसअघि लकडाउनका कारण अलपत्र परेकाहरुलाई उनीहरुको गाउँघरसम्म पुर्याउने उद्देश्यले सरकारले रेलको व्यवस्था गरेको थियो । रेलमन्त्री पीयुष गोयलका अनुसार प्रवासी कामदारलाई उनीहरुको घरसम्म पुर्याउन ४६८ वटा रेल सन्चालन गरिएको जानकारी दिएका छन् ।
कोरोना संक्रमणबीच भारतमा सार्वजनिक यातायातका अन्य सेवा पनि सुरु गर्ने तयारी छ । भारतीय रेल सेवा सुरु भएपछि हवाई सेवा पनि सन्चालन गर्ने चर्चा छ । यस्तै दिल्लीभित्र चल्ने सार्वजनिक रेल सेवा पनि सन्चालनको तयारी भइरहेको छ । दिल्ली मेट्रो रेल सेवा आफैंले त्यसको संकेत गरेको छ । यात्रुहरुको आउ–जाउ हुने क्षेत्रको सरसफाइ गर्न उनीहरुलाई खटाइएको हो । दिल्लीको लाइफलाइन भनिने दिल्ली मेट्रो कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि २२ मार्चदेखि बन्द गरिएको छ ।