अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, जेठ १ गते
निरन्तर चलिरहेको लकडाउनलाई सरकारले अझै कडाइ गर्ने भएको छ। लकडाउनलाई कडा बनाउन गृह मन्त्रालयले सबै जिल्ला प्रशासनलाई निर्देशन दिइसकेको छ। यसअघि जारी गरेका सबै पासहरुलाई गृहमन्त्रालयले आजदेखि लागु हुनेगरि रद्ध गरिसकेको छ। अब एउटा जिल्लाबाट अर्को जिल्लामा जानका लागि दिइएका पासहरु आजदेखि खारेज भएका छन्। अब गृहको निर्णय बिना एउटा जिल्लाबाट अर्को जिल्लामा जान पाइदैन।
अब बिरामी भएका व्यक्ति र मृत्यु संस्कारमा जाने बाहेकका काममा एउटा जिल्लाबाट अर्को जिल्ला जान पाइनेछैन। एउटा जिल्लाबाट अर्को जिल्लामा जानबाट रोक्नैका लागि झन्झटिलो प्रक्रिया बनाइएको गृहको भनाइ छ।
अब कोही बिरामी भएमा उसले चिकित्सकको सिफारिस रिपोर्ट लिएर प्रमुख जिल्ला अधिकारी कहाँ जानुपर्नेछ। प्रमुख जिल्ला अधिकारीले त्यो सिफारिसलाई गृहमा पठाएपछि गृहले छानविन गरेर पास पठाएपछि मात्रै एउटा जिल्लाबाट अर्को जिल्लामा जान पाइन्छ। त्यस्तै मृत्यु संस्कारमा जान लागेको आवश्यक कागजात प्रमुख जिल्ला अधिकारीले पेस गरेपछि त्यसलाई गृहमा पठाउनेछन् भने गृहले छानविन गरेर अनुमति दिएपछि मात्रै पास जारी हुन्छ।
हामीले लकडाउनलाई कडाई गर्न खोजेकै हो। त्यही भएर अब गृहको अनुमतिबिना एउटा जिल्लाबाट अर्को जिल्ला जाने पास नदिन भनिएको हो। संक्रमण फैलिदै गएको छ। यस्तोबेला प्रमुख जिल्ला अधिकारीलाई दबाब दिएर हिडडुल गर्ने प्रवृत्तिलाई समेत रोक्न खोजिएको हो।
गृहले अत्यावश्यक क्षेत्रका सवारी साधनहरुका लागि भने अनुमति पत्र नचाहिने स्पष्ट पारेको छ। तर त्यस्ता ठाउँमा काम गर्नेहरुले सम्बन्धित संस्थाहरूको परिचयपत्र अनिवार्य बोक्नुपर्नेछ। पत्रकारको हकमा भने सूचना विभागबाट जारी गरिएको अनुमति पत्र जरुरी पर्ने गृहले जनाएको छ।