अनलाईन न्युजपाटी काठमाडौँ ,समाचारदाता, जेठ १४ गते
कोरोना परीक्षणमा (कोभिड–१९) थप ११४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नेपालमा सङ्क्रमित सङ्ख्या ८८६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।
यो एकै दिनमा सङ्क्रमण पुष्टि भएको अहिलेसम्मकै सबैभन्दा ठूलो सङ्ख्या हो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधवार अपराह्ण नेपालमा कुल सङ्क्रमित ८८६ पुगेको बताए। तीमध्ये ६९९ जनाको उपचार भइरहेको र १८३ जना निको भएको उनले बताए।
मङ्गलवार ९० जनामा सङ्क्रमण पुष्टि भएको थियो। अहिलेसम्म नेपालमा सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या चार छ। नेपालमा सङ्क्रमितमध्ये ९० जना महिला र ७९६ जना पुरुष भएको उनले बताएका छन्। बुधवारसम्म संसारभरि कोरोनाभाइरस सङ्क्रमित हुनेको सङ्ख्या ५५ लाख नाघेको छ। विश्वभर मृत्यु हुनेको सङ्ख्या तीन लाख ४८ हजारभन्दा बढी छ।