प्रदेश सभा सदस्य नेतृ यादबले वडा अध्यक्ष भन्दा पनि कम हैसियत हाम्रो दिएको छ

अनलाईन न्युजपाटी  कृष्णा यादव, बीरगन्ज समाचारदाता जेठ ३२ गते

२ नम्बर प्रदेशका प्रदेशसभा सदस्य डा.अञ्जू कुमारी यादवले प्रदेश सरकारको आलोचना गर्नुभएको छ । कोरोनाभाइरस महामारीको रोकथाम र नियन्त्रणमा प्रदेश सरकारले चितबुझ्दो काम नगरेको भन्दै उहाँले प्रदेशसभा बैठकमा सरकारको आलोचना गर्नुभएको हो ।

शनिबार बसेको प्रदेशसभाको बैठकमा बोल्दै उहाँले आफ्नै प्रदेश सरकारलाई खोज्दा खोज्दै आफुहरु थाकेको बताउँदै दु:ख व्यक्त गर्नुभएको थियो ।

यस कोरोना महामारीमा प्रदेश सांसद हुने नाताले हाम्रो क्षेत्रका जनता प्रति हाम्रो केही उत्तरदायित्व हुन्छ, जनताको हामीसँग केहि अपेक्षाहरु हुन् स्वाभाविक छ, उहाँले प्रदेशसभामा बोल्दै भन्नुभयो, ‘तर पूरा लकडाउनको अवधिभारी हामी आफ्नै सरकारलाई खोज्दै रही हाल्यौं, कृपया हाम्रो रोल र हैसियत बताईदिनु मुख्यमन्त्री ज्यू ।’

जनता समाजवादी पार्टीकी नेतृ समेत रहेकी डा. यादवले प्रहरीहरुको लागी पनि सरकारले उचित प्रोत्साहन गर्न अनुरोध गर्नुभयो । उहाँले फ्रन्टलाईनमा खटिरहेका प्रहरी र सुरक्षाकर्मीका लागी विशेष प्रोत्साहन प्रदेश सरकार मार्फत उपलब्ध गराउँदा सुरक्षाकर्मीको मनोबल बढ्ने धारणा व्यक्त गर्नुभएको थियो । डा. यादवले सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको जिवान विमाको समेत प्रदेश सरकारले व्यस्थापन गर्नुपर्ने माग गर्नुभएको थियो ।

कोरोना रोकथाम र लकडाउनको समयमा प्रदेश सरकारले जिल्लाहरुमा गरेको काममा प्रदेशसभा सदस्यहरुलाई संलग्न नगराएको बताउँदै उहाँले आक्रोश व्यक्त गर्नुभयो । ‘प्रदेश सरकार मार्फत जिल्लाहरुमा राहत वितरण गरिएको छ, तर त्यसमा प्रदेशसभा सदस्यहरुलाई संलग्न गराईएन्,’उहाँले प्रश्न गर्नुभयो, ‘किन प्रदेशसभा सदस्यहरुलाई संलग्न गराईएन्? जनताले आज हामीसँग प्रश्न गर्दैछ, हामीले तिनलाई के जवाफ दिने?’

उहाँले प्रदेशसभा सदस्यको हैसियत एउटा वडा अध्यक्ष भन्दा पनि कम भएको भन्नुभयो । डा. यादवले अरुलाई हक दिने सदनले सर्वप्रथम आफ्नै सदस्यहरुको हक प्रष्ट पारदीन अनुरोध गर्नुभयो ।

सरकारले प्रदेशका विभिन्न जिल्लाहरुमा मिर्गौला, मुटु र क्यान्सर जस्ता अस्पताल खोल्ने निर्णय नीति तथा कार्यक्रममा समावेश गरेको बताउँदै उहाँले खुशी समेत व्यक्त गर्नुभयो तर त्यसको व्यस्थापनका लागी छुट्टै समिति गठन गरेर राजनीति मुक्त बनाउनु पर्ने उहाँले आग्रह गर्नुभयो ।

प्रदेश सरकारको बेटी बचाउँ बेटी पढाउँ अभियान बारे बोल्दै उहाँले साइकल वितरण गरेर मात्र छोरीहरुको उत्थान नहुने बताउनुभयो । छोरीहरुको उत्थानका लागी सहि शिक्षा र सुरक्षा महत्वपूर्ण भएको औल्याउनुभयो ।

डा. यादवले सामुदायिक विद्यालयमा शिक्षाको नाममा धोका भइरहेको बताउनुभयो । ‘प्रदेशमा रहेका सामुदायिक विद्यालयहरुमा शिक्षाको स्तर के छ? त्यहाँको विकासको लागी के योजना ल्याउन आवश्यक छ भन्ने जस्ता विषयमा हाम्रो बढी ध्यान हुनुपर्छ,’ बताउँदै उहाँले दु:ख व्यक्त गर्नुभयो, ‘म कहिले काहीं आफ्नो क्षेत्रमा रहेको विद्यालयहरुको भ्रमणमा गएको बेला त्यहाँको अवस्था देख्दा चित्त फाटेर आउँछ, छोरीलाई मात्र शिक्षा दिएर पनि हुँदैन, उनीहरुको लागी रोजगारको पनि व्यस्था गर्न आवशयक छ ।’

त्यसैगरि उहाँले प्रदेश सरकारले विद्यालयहरुको शिक्षा प्रणालीमा पनि परिवर्तन गर्न आवश्यक रहेको बताउनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *