अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, असार १ गते।
कोरोना भाइरसको संक्रमण फैलन नदिन गत चैत्र १२ गते लकडाउन सुरू भएपछि बन्द भएका सरकारी कार्यालय आजदेखि सञ्चालनमा आउँदैछन् ।
गत बुधबारको मन्त्रिपरिषद् बैठकले आजदेखि सबै सरकारी कार्यालयहरु खोल्ने निर्णय गरेपछि साढे २ महिनापछि सरकारी कार्यालयहरू पुनः सञ्चालनमा आउन लागेका हुन् ।
बिहान ८ बजेदेखि १ बजेसम्म पहिलो सिफ्ट र १ बजेदेखि साँझ ६ बजेसम्म दोस्रो सिफ्टमा कार्यालय सञ्चालन हुनेछन् ।
सरकारले पहिलो चरणमा ५०, दोस्रो चरणमा ७५ प्रतिशत कर्मचारीसहित सरकारी कार्यालय खोल्ने र तेस्रोमा गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय संस्था खोल्ने तयारी गरिएको छ ।
मन्त्रिपरिषद् बैठकको निर्णयपछि पसलहरू सञ्चालनमा आइसकेका छन् भने जोरबिजोर प्रणालीमा निजी सवारीसाधन पनि गुड्न थालेका छन् ।