भारत चीन सीमा विवाद उग्र रुप लिदै: मृत्यु हुने भारतीय सैनिकको सङ्ख्या २० पुग्यो

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, असार ३ गते

लद्दाखमा भएको भिडन्तमा मारिने भारतीय सैनिकको सङ्ख्या २० पुगेको भारतीय सेनाले जनाएको छ। भारतीय सेनाको पछिल्लो वक्तव्य अनुसार चिनियाँ सैनिकहरूसँग सोमवार भएको भिडन्तमा घाइते भएका थप १७ जना भारतीय सैनिकहरूको मृत्यु भएको छ।  भारतीय र चिनियाँ सैनिकहरूबीच गलवान इलाकामा सङ्घर्ष विराम भएको छ, जहाँ दुवै पक्षबीच १५\१६ जुनको रातमा भिडन्त भएको थियो।

भिडन्त भएको स्थानमा कर्तव्य पालनाका क्रममा गम्भीर घाइते भएका १७ जना भारतीय सैनिकहरूको शून्य डिग्री सेल्सीअसभन्दा तलको तापक्रम र उच्च हिमाली क्षेत्रमा तिनीहरूलाई लागेको चोटका कारण मृत्यु भएको छ। मङ्गलवार केही अघि भारतले गलवान क्षेत्रमा भएको भिडन्तमा सेनाका एक वरिष्ठ अधिकारीसहित तीन भारतीय सैनिकको ज्यान गएको पुष्टि गरेको थियो। योसँगै उक्त घटनामा ज्यान गुमाउने भारतीय सैनिकहरूको सङ्ख्या २० पुगेको छ।

चीनको तर्फबाट भारतीय सेनासँग भएको हिंसात्मक भिडन्तमा आफ्ना कति सैनिक हताहत भए भन्नेबारे कुनै विवरण सार्वजनिक भएको छैन।चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले भारतीय सैनिकले सीमा नाघेर ‘चिनियाँ सैनिकलाई आक्रमण गरेर दुई पक्षका सीमा सुरक्षा बलबीच गम्भीर शारीरिक सङ्घर्ष भएको’ बताएको समाचारमा जनाइएको छ।

बेइजिङले आफ्नो पक्षमा भएको क्षतिको पुष्टि गरेको छैन। तर भारतीय सेनाले चिनियाँ सैनिकहरू पनि हताहत भएको दाबी गरेको छ।भारतीय पक्षले यो घटनामा गोली नचलेको दाबी गरेको छ। केही समययता लद्दाखको गलवान क्षेत्रमा चिनियाँ सेना प्रवेश गरेकाले विवाद बढेको भारतीय पक्षको भनाइ छ।

चीनको ग्लोबल टाइम्स पत्रिकाका अनुसार चिनियाँ विदेशमन्त्रालयले विद्यमान विवादलाई वार्ताबाट समाधान गरिने र त्यसका लागि दुवै देश तयार भएको जनाएको छ।भारत र चीनबीच सीमामा लामो समयदेखि तनाव हुँदै आएको छ।

दुई देशबीच सन् १९६२ मा युद्ध भएको थियो। त्यसमा भारत नराम्ररी पराजित भएको थियो।चीनले आफ्नो ३८,००० वर्ग किलोमिटर क्षेत्र ओगटेको भारतको आरोप छ। सीमाबारे दुई पक्षले तीन दशकमा पटकपटक वार्ता गरेका भए पनि कुनै समाधान फेला पारेका छैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *