महोत्तरीको सम्सी गाउँपालिका ७२ घण्टाको लागि सिल

अनलाईन न्युजपाटी जनकपुरधाम समाचारदाता, असार ४ गते ।

महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा कोरोनाभाइरस (कोभिड -१९) सङ्क्रमितको सङ्ख्या बढेपछि बुधबार राति १२ बजेदेखि ७२ घण्टाको लागि गाउँपालिका सिल गरिएको छ ।
महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले सम्सी गाउँपालिकामा मात्रै २७३ जनामा कोरोनाको सङ्क्रमण फेला परेपछि गाउँपालिका सिल गरिएको जानकारी दिनुभयो । सम्सी गाउँपालिकामा बुधबार मात्रै १८२ जना कोरोना पोजिटिभको रिपोर्ट आएको थियो ।

महोत्तरी जिल्लामा अहिलेसम्म फेला परेको ५०८ कोरोना पोजिटिभमध्ये आधाभन्दा बढी सोही गाउँपालिकाको रहेको कारण सतर्कता अपनाउन सो गाउँपालिकाको चारकिल्ला भित्र रातिबाट सिल गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय महोत्तरीका सूचना अधिकारी कामेश्वर यादवले जानकारी दिनुभयो ।

सिल गरिएको अवधिमा आवश्यक काम बाहेकको अवस्थामा घरबाहिर कसैलाई ननिस्कन प्रशासनले गाउँपालिकाका बासिन्दासँग आग्रह गरेको छ ।
सम्सी गाउँपालिकामा रहेको १६ वटा क्वारेन्टाइनमा एक हजारभन्दा बढी मानिस राखिएको स्वास्थ्य कार्यालय, महोत्तरीले जानकारी दिए। क्वारेन्टाइनहरू व्यवस्थित नहुँदा त्यहीँबाट बढीलाई कोरोनाको सङ्क्रमण भएको हुनसक्ने आँकलन गर्नुहुँदै उहाँले गाउँपालिकालाई तत्कालै क्वारेन्टाइन सुधार गर्न आग्रह गरिसकिएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *