सुनको मूल्य नघटेकाले कारोबार एकदमै न्यून रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघको भनाइ

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता असोज १६ गते।

विगतका वर्षहरुमा दसैंको समयमा सुन व्यापार उत्साहजनक हुने गरेकोमा यस वर्ष भन बजार सुनसान भएको व्यवसायीले बताएका छन् । सुनको मूल्य नघटेकाले कारोबार एकदमै न्यून रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघको भनाइ छ । मूल्य नघटेपछि सुन किन्ने ग्राहक पनि घटेको व्यवसायीहरुको भनाइ छ । उनले भने, “विगतका वर्षहरुमा दसैंमा दैनिक ३० देखि ४० किलोसम्म सुनको कारोबार हुने गरेको थियो । यो वर्ष मुस्किलले दैनिक १५ किलो कारोबार भइरहेको छ । मूल्य बढेकाले नै कारोबार कम भएको हो ।” यद्यपि, तीजको समयमा भन्दा भने व्यापार केही बढेको उनको भनाइ छ । जेठ पहिलो सातादेखि सुनको भाउ उकालो लागेको हो । आजका लागि छापावाला सुन प्रतितोला ७० हजार ९ सय र तेजावी सुन प्रतितोला ७० हजार ६ सय रुपैयाँ निर्धारण गरिएको छ । हिजोको तुलनामा आज प्रतितोला ११ सय रुपैयाँले बढेको हो । सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन प्रतितोला ८ सय ३५ रुपैयाँ रहेको चाँदी आज प्रतितोला १५ रुपैयाँ बढेर प्रतितोला ८ सय ५० रुपैयाँ पुगेको छ । नेपालमा करिब २२ हजार व्यवसायीहरुले सुनको कारोबार गर्दै आएका छन् । सरदर दैनिक २० किलो सुन नेपाली बजारमा खपत हुने गरेको सुनचाँदी व्यवसायी महासंघले बताउँदै आएको छ । विगतका वर्षहरुमा चाडपर्वको समयमा यो परिमाण दोब्बर हुने गरे पनि यो वर्ष भने व्यापार निराशाजनक भएको व्यवसायीको गुनासो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *