अनलाईन न्युजपाटी, जनकपुर ,समाचारदाता, भदौ ११ गते ।
जनकपुर यातायात व्यवस्था कार्यालयमा कर्मचारीको मिलेमतोमा लाइसेन्स बनाइदिने दुई जना दलाल प्रहरी फन्दामा परेको छ ।कर्मचारीको मिलोमतोमा सेवाग्राहीसँग मोटो रकम लिएर लाइसेन्स बनाइदिने बताउने दुईजना दलाल पक्राउ परेका हुन् ।पक्राउ पर्नेमा सर्लाहीको मलङ्गवा नगरपालिका–११ बस्ने २५ वर्षका जितेन्द्र यादव र महोत्तरीको महोत्तरी गाउँपालिका–२ बस्ने २८ वर्षका पंकज कुमार सिंह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।जनकपुरधाम उपमहानगरपालिका–८ स्थित ज्ञानकुप विद्यालयको प्राङ्गणमा मोटरसाइकल लाइसेन्सको लागि ट्रायल परीक्षामा पास गराइदिने भन्दै धनुषाको मिथिला नगरपालिका–६ बस्ने देवेन्द्रप्रसाद यादवसँग ५ हजार र धनुषाको सबैला नगरपालिका–१० बस्ने अरुणकुमार पंजियारसँग ७ हजार रुपैयाँ ठगी गरेको उजुरीको आधारमा दलालको काम गर्दै आएका जितेन्द्रलाई पक्राउ गरेको जिप्रका धनुषाले बताएको छ ।जितेन्द्रको साथबाट ४० हजार रुपैयाँ नगद र विभिन्न व्यक्तिको लाइसेन्स बनाउने कागजात समेत बरामद गरेर ठगी मुद्दा चलाएको प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए ।जितेन्द्रले १० जनाको सवारी चालक अनुमति पत्र बनाइदिने भन्दै महोत्तरीको महोत्तरी गाउँपालिका–२ बस्ने पंकजकुमार सिंहलाई १ लाख ५१ हजार रुपैयाँको एनआईसी बैंकको चेक दिएकाले उनलाई पनि पक्राउ गरेर अनुसन्धान गरिरहेको उनले जनाए ।पछिल्लो समय प्रदेश नम्बर २ को सरकार मारहत आएपछी जनकपुर यातायात व्यवस्था कार्यालयमा बिचौलिया र कर्मचारीको सेटिङ्गमा पैसा लिएर लाइसेन्स बनाइदिने धन्दा उल्लेख्यरुपमा मौलाएको छ।