कर्णालीका अधिकांश जिल्लाका नागरिक भाइरल ज्वरोले प्रभावित

अनलाईन न्युजपाटी,सुर्खेत,समाचारदाता भदौ २४  गते।

भाइरल ज्वरोका कारण कर्णाली प्रदेशका अधिकांश जिल्लाका नागरिक प्रभावित भएका छन् । प्रायजसो मौशम परिवर्तन हुने क्रममा हुने यो समस्याले कर्णाली प्रदेशका सुर्खेत, जाजरकोट, दैलेख कालिकोट, जुम्ला लगायत जिल्लाका नागरिकलाई प्रभावित गरेको छ । प्रदेशको स्वास्थ्य निर्देशनालय सुर्खेतकाअनुसार सवैजसो जिल्लाका कुनै न कुनै ठाउँमा भाइरल ज्वरोको समस्या छ । भाइरल ज्वरो नियन्त्रणका लागि स्वास्थ्यकर्मी तयारी अवस्थामा रहेका प्रदेश सरकारले बताएको छ । यसैबीच, भाइरल ज्वरोकै कारण जाजरकोटमा एक जना बालिकाको मृत्यु भएको छ । बारेकोट गाउँपालिका ६ टाँसीधुमा घर भई सदरमुकाम खलंगा थाप्लेमा बस्दै आएकी १४ वर्षीया आशा विकको मृत्यु भएको हो । ज्वरो आउने, घाँटी, टाउको र हातखुट्टा दुख्नेलगायत समस्या देखिएपछि उहाँ जिल्ला अस्पतालमा हप्ताअघि भर्ना हुनुभएकी बालिकाको आज मृत्यु भएको हो । एक सातासम्म पनि उहाँको अवस्थामा सुधार नआएपछि अस्पतालले बाँकेको नेपालगञ्ज रेफर गरेको थियो । उपचारका लागि नेपालगंज लैजादै गर्दा उहाको बाटोमै मृत्यु भएको आफन्त गणेश विकले बताउनु भयो । आशा खलंगाको त्रिभुवन माद्यामिक विद्यालयमा ८ कक्षामा पढ्दै हुनुहुन्थ्यो । उहाँका बाबुआमा मजदुरीका लागि ५ वर्षदेखि भारतको हिमाचलमा बस्दै आउनुभएको छ । केही दिन यता जिल्ला अस्पताल र स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामी बढेका स्वास्थ्कर्मीले बताएका छन् । जिल्ला अस्पतालमा दैनिक डेढ सय बिरामी आउने गरेकोमा आधा बिरामी भाइरल ज्वरोका आउने गरेको डाक्टर केशर कार्कीले बताउनुभयो । बिरामी बढेको तर औषधिको स्टक सकिन थालेकाले समस्या हुन थालेको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *