अनलाईन न्युजपाटी,काठमाडौँ ,समाचारदाता भदौ २५ गते ।
एकै रातमा नेपाली बैंकका एटीएम बुथबाट अर्बौं रकम निकाल्ने योजनासहित नेपाल आएका चिनियाँ ह्याकर समूहका ६ जना पक्राउ परिसकेका छन् । पक्राउ पर्नेमा तीनजना नेपाली पनि छन् । ह्याकर समूहका दुईजनाको खोजी कार्य जारी छ । उनीहरुको खोजीका लागि नेपाल प्रहरीले इन्टरपोललाई समेत पत्राचार गरिसकेको छ । पक्राउ परेका ह्याकरमध्येका एकजनाले भाग्नका लागि हेलिकप्टर नै चार्टर गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।भाग्दाभाग्दै विमानस्थलबाट पक्राउ परेका चिनियाँ मूलका फ्रान्सेली नागरिक छु लुइले भाग्नकै लागि हेलिकप्टर चार्टर गरेको प्रहरी अनुसन्धानमा खुलेको हो । काठमाडौंको दरबारमार्गबाट पाँच जना चिनियाँ ह्याकर पक्राउ परेपपछि छु लुइ भागेर रसुवा पुगेका थिए ।उनी रसुवाको केरुङ नाकाबाट चीन भाग्न चाहन्थे । तर त्यहाँबाट चीन प्रवेश गर्न नसक्ने अवस्थामा पुगेपछि उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फर्कनका लागि हेलिकप्टर चार्टर गरे । छु लुइ टिमुरेबाट एक निजी कम्पनीको हेलिकप्टरमार्फत् काठमाडौं फर्किए । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, ‘‘रसुवाबाट चीन छिर्न नसकेपछि हेलिकप्टर चार्टर गरे । त्रिभुवन विमानस्थलमा आइसकेपछि उनी भाग्ने तयारीमा थिए । हामीलाई सबै सूचना आइरहेको थियो । उनलाई विमानस्थलबाटै हामीले पक्राउ गर्न सफल भयौं ।’’उनले हेलिकप्टर चार्टर गर्नका लागि कसको सहयोग लिएका थिए भन्नेबारे समेत अनुसन्धान जारी छ । चिनियाँ ह्याकर समूहलाई नेपालमा सहयोग गर्नेहरुको विषयमा समेत अनुसन्धान सुरु गरिएको एक प्रहरी अधिकारी बताउँछन् । अनुसन्धानमा संलग्न ती अधिकारीले भने, ‘‘उनीहरु सबै विषयका बारेमा जानकारी लिएर नेपाल आएको देखिन्छ । उनीहरुलाई नेपाली नाकाको बारेमा पनि जानकारी रहेको पाइयो । यसबाट उनीहरुले ठूलो र व्यवस्थित योजना बनाएर नेपाली बैंकमाथि आक्रमण गरेको बुझ्न सकिन्छ ।’’ चिनियाँ ह्याकर समूह पक्राउ परेपछि यसबारे भारत र चीनले समेत चासो देखाएका छन् ।