अनलाईन न्युजपाटी,सप्तरी ,समाचारदाता भदौ २८ गते ।
सप्तरीमा बलात्कार आरोप लागेका एक जना शिक्षकलाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ ।सप्तरीको राजविराज नगरपालिका ११ बस्ने फर्सेठका २५ वर्षीय तेजनारायण यादवलाई जिल्ला अदालत राजविराजले कारागार पठाउने आदेश गरेको हो। बिहीबार न्यायाधीश चन्द्रमणि ज्ञवालीको एकल इजलासले यादवलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेको अदालतले जनाएको छ ।सप्तरीको रुपनी गाउँपालिका २ पौवास्थित जेसिज आधारभूत विद्यालयमा राहत शिक्षक रहेका यादवमाथि १७ वर्षीया युवतीलाई बलात्कार गरेको अभियोग रहेको छ । अदालतले पीडितको अभियोग बमोजिम कसुर गरेको भन्ने अवस्था देखिएकाले मुलुकी फौजदारी कार्य्विधि संहिता २०७४ को दफा ६७(१) अनुसार पछि कसुर ठहरे बमोजिम हुनेगरी हाललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो।उनलाई जेठ २१ गते किशोरीलाई बलात्कार गरेको आरोपमा सप्तरी प्रहरीले साउन २९ गते नियन्त्रणमा लिएको थियो। यसअघि गाउँलेले नै नियन्त्रणमा लिई जेठ २२ गते प्रहरीको जिम्मा लगाए पनि गाउँमा पञ्चायती गरेर विवाह गराउने सहमति गरी यादवलाई छुटाइएको थियो। वडा अध्यक्ष सञ्जय यादवको रोहवर तथा दाजु गजेन्द्र यादवको जमानतमा यादव छुटेका थिए।सोही दिन गते पीडितले जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरी प्रहरीले दर्ता गर्न मानेको थिएन। उच्च अदालत जनकपुर, राजविराज इजलासले असार १२ गते परमादेश जारी गरेपछि साउन १३ गते जबरजस्ती करणीको उजुरी दर्ता तथा किशोरीको स्वास्थ्य परीक्षण गराइएको थियो। राजविराज नगरपालिका ११ फर्सेठमै पाहुना आएकी पीडित किशोरीलाई कोही नभएको मौका पारी यादवले बलात्कार गरेको जनाइएको छ ।