सरकारले आन्तरिक विमानस्थलको सञ्चालनसमेत निजी क्षेत्रलाई जिम्मा दिने भए

अनलाईन न्युजपाटी, काठमाडौँ  ,समाचारदाता ,असोज २ गते ।  

सरकारले आन्तरिक विमानस्थलको सञ्चालनसमेत निजी क्षेत्रलाई जिम्मा दिने भएको छ । आन्तरिक विमानस्थलहरुमध्ये सम्भावना बोकेका विमानस्थललाई सार्वजनिक-निजी-साझेदारी मोडलमा सञ्चालनमा ल्याउने योजना नेपाल नागरिक उड्डयन प्राधिकरणले अघि सारेको हो ।प्राधिकरणले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम अनुसार सम्भावित विमानस्थललाई छनोट गरी त्यसलाई पीपीपी मोडलको नमूना विमानस्थलका रुपमा विकास गर्ने योजना रहेको छ । अहिले देशभरका सबै विमानस्थलको निर्माण तथा सञ्चालन प्राधिकरण आफैले गर्छ । पछिल्लो समय भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनको जिम्मा विदेशी कम्पनीलाई दिनेबारे गृहकार्य भइरहेको छ । विगतमा नेताको भनसुनका भरमा विमानस्थल आयोजना अगाडि बढाउने गरेको आरोप प्राधिकरणलाई लाग्ने गरेको थियो । अब भने राष्ट्रिय विमानस्थल विकास योजना नै बनाइने भएको छ ।उक्त योजनाले आन्तरिक विमानस्थलहरुको निर्माण, विकास, बिस्तार र स्तरोन्नतीलाई समट्ने प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताए । ‘विमानस्थल सरकारले आवश्यक ठानेको स्थानमा बन्ने हो, हामी सरकारका योजनालाई कार्यान्वयन गर्ने निकाय हौं,’ उनले भने, ‘विमानस्थलको निर्माण तोकिएको मापदण्डभित्रै रहेर हुने गर्छ ।’नयाँ विमानस्थल निर्माण र विकासमा अब प्रदेश र स्थानीय सरकारको समेत भूमिका हुने भन्दै पोखरेलले तल्ला सरकारसँग सहकार्य हुने बताए । संविधानले नागरिक उड्डयनसँग सम्बन्धित सबै कामको जिम्मा भने संघीय सरकारलाई दिएको छ । पूर्वाधार विकास र नियमन प्राधिकरणबाटै हुन्छ । विमानस्थलहरुमा लगानीका सम्बन्धमा समेत अब निजी लगानीकर्ताको सम्भावना खोजिने भएको छ । विमानस्थल पूर्वाधार निर्माण, विकास, बिस्तार र व्यवस्थापनमा स्वदेशी र विदेशी लगानीकर्ता आकर्षण गरी नेपाल सरकारको पूर्वस्वीकृतिमा ‘ज्वाइन्ट् इन्भेस्टमेन्ट प्लान एण्ड प्रोग्राम’ तयार गर्ने कार्यक्रमसमेत प्राधिकरणले बजेटमा समेटेको छ । प्रदेश मुकाममा रहेका विमानस्थलहरुलाई कम्तिमा ७० सीट क्षमताका जहाज चल्ने सक्ने गरी स्तरोन्नती गर्ने योजनासमेत प्राधिकरणले बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *