अनलाईन न्युजपाटी, काठमाडौँ ,समाचारदाता ,असोज ५ गते ।
काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा आइतबार बिहान फरक परिदृश्य देखिन्थ्यो । बसपार्कभित्रका टिकट काउन्टरहरू अघिल्ला दिन सुनसानजस्तै हुने गरेका भए पनि आइतबार भने भीडभाड थियो ।सरकारले दशैंमा उपत्यकाबाट बाहिरिने यात्रुको लागि आइतबारबाट टिकट बुकिङ खुला गरेपछि नयाँ बसपार्कमा रहेका टिकट काउन्टरमा एक्कासि भीड ग्राफ बढेको हो । भीडभाड बढेपछि अघिल्ला दिनहरूमा फुर्सदिला हुने काउन्टरका कर्मचारीको व्यस्तता ह्वात्तै बढेको छ ।आइतबारबाट लामो दूरीमा चल्ने बसको अग्रिम टिकट बुकिङ खुला भएपछि दशैंमा घर जाने सपना पूरा गर्न यात्रुहरू बसपार्कमा झुम्मिएका हुन् । नयाँ बसपार्कसँगै कलंकी, बल्खु, पुरानो बसपार्क, कोटेश्वर, तिलगंगा, चाबहिल, स्वयम्भू, सुन्धारा, नागढुंगा, जगाती, लगनखेललगायतका स्थानबाट पनि अग्रिम टिकट बुकिङ खुला गरिएपछि यहाँका काउन्टरमा पनि भीडभाड देखिएको छ ।यात्रु नठगिउन् र सहज ढंगले घर फर्कन पाउन् भनेर यातायात कम्पनीहरुले टिकट बुकिङ खुला गरेलगत्तै यात्रुहरू आफ्नो सिट सुरक्षित गर्न हतारिने गरेका छन् ।यसैबीच, यात्रुको सहजताका लागि यात्रु सहायता कक्ष पनि सञ्चालनमा आएको छ । सहायता कक्षले यात्रुलाई पर्ने समस्यामा सहजीकरणको काम गर्नेछ ।