सडकले छेक्यो विराटनगरको दशैं बजार

अनलाईन न्युजपाटी, बिराटनगर   ,समाचारदाता ,असोज ६ गते ।  

ढल तथा नाला निर्माणका लागि खनिएको सडकको काम समयमा नै सम्पन नहुँदा प्रदेश १ को राजधानीको अवस्था भद्रगोल बनेको छ । जताततै खनिएका सडक निर्माणको कामले गति नलिँदा विराटनगरको मुख्य बजारको अवस्था भद्रगोल बनेको हो । क्षेत्रीय सहरी विकास परियोजनाअन्तर्गत निर्माण सुरु भएको सडकका कारण दशैंमा किनमेलका लागि आउने ग्राहकनै नआएको व्यापारीहरू बताउँछन् । स्थानीय व्यापारी आरिफ इराकी सडकका कारण दशैंको ब्यापार नफस्टाएको बताउँछन् । रोड खन्नुभन्दा अगाडि कस्तो राम्रो व्यापार थियो,’ उनी भन्छन्, ‘कछुवाभन्दा स्लो गतिले भएको कामले पलायन हुने अवस्था आयो ।’ दशैँ नजिकिै गर्दा सीमावर्ती बजार जोगबनी गुल्जार छ । तर, विराटनगरको बजार भने सुनसान छ । बजारको अस्तव्यस्त सडककै कारण उपभोक्ता दशैको खरिद गर्न सीमावर्ती बजार जोगबनी पुग्ने गरेको व्यापारीहरू बताउँछन् । दशै लागेपनि व्यापार सुनसान रहेको व्यापारी इरफान बताउँछन् । दशैंमा आउने केही ग्राहक पनि सडकका कारण आधाबाटो बाटै फर्कने गरेको उनको गुनासो छ ।बाटो नहुँदा ग्राहकहरू नआएको बताउँदै उनले भने, ‘प्रदूषणले गर्दा मान्छे घरबाट निस्कन चाहँदैनन् ।’ सडक समयमा नै नबनेका कारण व्यापार घाटामा गएको उनले बताए । महानगरले समयमा नै सडक नबनाएका कारण समस्या भएको व्यावसायी तवसिफ अनवर बताउँछन् । दशैको मुखमा महानगरको सडकले निराशा थपेको उनको गुनासो छ । सडक नालाको काम सम्पन्न नहुँदा चार महिनायता समस्या भोग्नु परेको उनले बताए । विराटनगर महानगरपालिकाभित्रको मेन रोड र सहायक रोडहरू निर्माणको काम तीब्र बनाइएको छ । सडक खनिएको करिब आठ महिनापछि कालोपत्रेका लागि काम तीब्र बनाइएको हो । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली सडक निर्माण चाँडो सक्ने प्रत्येक दिन २ बजेपछि फिल्डमा निस्कने गरेको बताउँछन् । दशैँमा सडक हिँड्नयोग्य बनाउनका लागि काम तीब्र बनाइएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *