अनलाईन न्युजपाटी,धनगढी,समाचारदाता असोज १६ गते।
दसैंमा यात्रुको चाप बढेपछि सुन्दर सुदूरपश्चिम यातायात प्रालिले विभिन्न रुटमा सार्वजनिक सवारी साधन थप गरेको छ । सवारी साधन नपाएर यात्रुहरु अलपत्र पर्ने अवस्था आएपछि असोज १० गतेदेखि अतिरिक्त सवारी साधनहरु संचालन गरिएको प्रालिले जनाएको छ ।धनगढी–काठमाडौं रुटमा १४ वटा गाडी थप गरिएको सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटाले जानकारी दिए । यहाँबाट काठमाडौं जाँदा यात्रु नभएर खाली गाडी जानु पर्ने भएकाले प्रतिगाडी ५० लिटर डिजेल पनि संस्थाले उपलब्ध गराइरहेको उनले बताए ।अध्यक्ष सापकोटाका अनुसार संस्थाले लिने ‘प्रतिट्रीप’ दुई हजार रुपैयाँ पनि छुट गरिएको छ । दसैं भएकाले अहिले धनगढीबाट काठमाडौं जाँदा यात्रु नपाइने गरेको यातायात व्यवसायीहरुले बताएका छन् ।‘काठमाडौंबाट धनगढी आउनेको चाप बढेपछि कतिपय यात्रुहरु सवारी साधन नपाएर अलपत्र पर्ने अवस्था आएको छ । त्यसैले प्रालिअन्तर्गतका होल्ड भएर बसेका गाडीलाई पठाइरहेका छौं ।’ उनले भने, ‘एकतर्फी खाली जाँदा भाडा उठाउन गाह्रो पर्ने भएकाले प्रतिगाडी ५० लिटर डिजल दिनुका साथै संस्थाले लिने शुल्क मिनाहा गरेका छौँ ।’प्रालिले असोज १० गतेदेखि १८ गतेसम्म अतिरिक्त यातायातका साधन संचालन गरिने जनाएको छ । सुदूरपश्चिमका पहाडी जिल्लामा पनि आठ वटा सवारी साधन थपिएको अध्यक्ष सापकोटाले जानकारी दिए । ‘आज र भोलि बाजुरामा मात्रै थप १०-१० वटा गाडी जाँदैछन् ।’ उनले भने, ‘सवारी साधन नपाएर यात्रुहरु अलपत्र नपरुन भन्ने कोशिष गरिरहेका छौं ।’