द्वन्द्वमा चार छोरा गुमाएकी दर्नाललाई सहयोग

अनलाईन न्युजपाटी,हेटौडा,समाचारदाता असोज १६ गते।

दुई फरक द्वन्द्वमा आफ्ना चार छोरा गुमाएर पनि बेवास्तामा परेकी र सुकुम्बासी बस्तीमा बस्न बाध्य बेपत्ताकी आमा भनेर चिनिने हेटौँडाकी शुभद्रामाया दर्नाललाई दशैँका अवसरमा हेटौँडा उपमहानगरपालिकाले खाद्य सामग्री, लताकपडा तथा आर्थिक सहयोग प्रदान गरेको छ ।हेटौँडा–९ की सुभद्राको घरमा छोरा गुमाउँदाको पीडा त छँदैछ, खान लगाउन धौधौले पनि कहिलै छोडेन । सुभद्राका धेरै चाड पर्व समस्यामै बिते । घरमा बिहान बेलुकाको छाक टार्न धौधौ । त्यसमा पनि थुप्रै रोगले थलिएको वृद्ध शरीर ।
आज एक्कासि उपमहानगरपालिका प्रमुख हरिबहादुर महत दशैँका लागि सामान बोकेर घरमा पुग्दा उनका आँखा रसाए । झुप्रो घरमा बस्दै आउनुभएकी सुभद्रालाई उपमहानगर प्रमुख  महतले खाद्यान्नका सामान, दुई बोरा चामल, दाल, तरकारी, आलु, प्याज, तेल, चिनी, नून, मसलालगायतका सामान हस्तान्तरण गरे ।दशैँमा लगाउनका लागि सुभद्रा र उहाँका नातिनीलाई कपडा र दशैँ तथा तिहार मान्नका लागि नगद रकमसमेत प्रमुख महतले हस्तान्तरण गरे । छोरा गुमाए पनि वर्षौंदेखि उहाँलाई धेरै खालका अभाव नै अभाव थियो तर आज स्थानीय सरकारको रूपमा रहेको उपमहानगरले आफ्नै घरमा आएर सहयोग गरेकामा उहाँले खुशी व्यक्त गरे ।अलपत्र परेका तथा विभिन्न कारणले समस्यामा परेका नागरिकलाई सहयोग गर्दै आएको उपमहानगरपालिकाले माओवादी जनयुद्ध र २०४६ सालको जनआन्दोलन गरी नेपालका दुई ठूला आन्दोलनका क्रममा आफ्ना चार छोरा गुमाउन पुगेकी ७० वर्षीया सुभद्रालाई सहयोग गरेको हो ।आफ्नी १८ वर्षीया नातिनी अस्मिसा दर्नालको साथमा सुकुम्बासी बस्तीमा बस्दै आउनुभएकी सुभद्रालाई महतले उपमहानगरपालिकाको बैठकबाट निर्णय गरी बस्ने घरको व्यवस्था मिलाइने प्रतिबद्धतासमेत जनाए । यिनै आमाजस्ता छोराहरुकै बलिदानीमा आफू स्थानीय सरकारको प्रमुख भएका कारण शहीद परिवारका बलिदानीको आफूहरुले उपेक्षा गर्न नसक्ने उनले बताए । उनले आमा सुभद्राको बस्ने, खानेसहित औषधि उपचारको समेत व्यवस्था आफूले गरिदिने र नातिनीका लागि जीविकोपार्जनका लागि पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।आफ्नो घरमा आजसम्म कोही नेता नआएको र उपमहानगर प्रमुख आएर आफ्नो पीडा सुनिदिएको भन्दै सुभद्राले खुशी व्यक्त गरे । उनको पति नेत्रबहादुर दर्नालको पनि करीब एक दशक अगाडि ८० वर्षको उमेरमा मृत्यु भइसकेको छ । उनका पाँच छोरामध्ये साहिँला छोरा एउटाको मात्र कालगतिले मृत्यु भएको थियो । जेठो काजीबहादुर र माइलो झक्तबहादुरलाई ४६ सालको जनआन्दोलनमा लागेका कारण बेपत्ता पारिएको र माओवादी जनयुद्धमा लागेका कारण काइँलो अमृत र कान्छो उद्धवलाई बेपत्ता पारिएको वृद्धा दर्नालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *