अनलाईन न्युजपाटी,सप्तरी ,समाचारदाता,असोज २१ गते ।
सप्तरीमा आफ्नै पत्नी र छोराको कुटपिटबाट एकजनाको ज्यान गएको छ । सप्तरीको महादेवा गाउँपालिका ३ पकरीस्थित पारिवारिक विवादको क्रममा ५० वर्षीया जुमली खातुन र २० वर्षीय कान्छो छोरा मोहम्मद रहिम पमरियाले कुटपिट गर्दा ६२ वर्षीय मोहम्मद गफुर पमरियाको मृत्यु भएको हो ।आइतबार मध्यराति कुटपिटबाट घाइते भएका पमरियाको उपचारार्थ राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याउने क्रममा बाटैमा मृत्यु भएको सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए । उनका अनुसार छोरा ले मदिरा सेवन गरेर अन्धाधुन्ध कुटपिट गर्दा गफुरको मृत्यु भएको प्रारम्भिक अनुसन्धानले देखिएको छ ।शव पोष्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ भने घटनामा संलग्न आमाछोरा फरार रहेकाले खोजी भइरहेको प्रहरी उपरीक्षक प्रसाईंले बताए ।