अनलाईन न्युजपाटी,रामेछाप,समाचारदाता,कार्तिक ६ गते।
उपभोग्य सामानमा धेरै मूल्य लिई पर्यटक ठगी गरेको आरोपमा प्रहरीले रामेछापका दुई जना व्यवसायीलाई पक्राउ गरेको छ । उनीहरु माथि कालोबजारी मुद्दामा अनुसन्धान भइरहेको प्रहरी प्रमुख डिएसपी सन्तोष भट्टराईले जानकारी दिए ।सदरमुकामस्थित मन्थली बिमानस्थलको नजिकै व्यवसाय गर्दै आएका एभरेष्ट गेटवे मिनिमार्केटका सञ्चालक जयकृष्ण अधिकारी र ट्रेडर्स ट्रान्जिट क्याफेका सञ्चालक पासाङ ल्हामु शेर्पालाई प्रहरीले कालोबजारी गरेको आरोपमा पक्राउ गरेको हो । मंगलबार पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत रामेछापबाट म्याद थप गरी हिरासतमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरी प्रमुख भट्टराईले बताए ।जिल्ला बजार अनुगमन समितिले केही दिन बजार अनुगमन गर्दा उनीहरुले उपभोक्ताहरुसँग अत्याधिक मुल्य लिई सामान बिक्री गरेको पाइएको प्रमुख जिल्ला अधिकारी लिलाकुमारी पाण्डे केसीले जानकारी दिइन् ।काठमाडौंबाट सोलुखुम्बुका लागि हुने सबै उडान अहिले मन्थली विमानस्थलबाट हुन थालेपछि यहाँ पर्यटकको संख्या बढेको छ । पर्यटकको चाप बढेको मौका छोपी सो क्षेत्रका होटल र पसलहरुले अत्याधिक मुल्य लिई सामान बिक्री गरेका छन् ।व्यसायीहरुले २० देखि २५ रुपैयाँ पर्ने दूधचियाको एक सय रुपैयाँ, १५ रुपैयाँ पर्ने कालो चियाको ७५ रुपैयाँ लिने गरेका छन् । त्यस्तै मन्थली बजारमा १ सय ५० रुपैयाँ पर्ने सादा खानाको ४ सय ५० रुपैया लिने गरेका छन् । अन्य खानेकुराको मूल्य पनि अधिक लिने गरेको पाइएको छ ।व्यवसायीहरुले २० देखि २५ रुपैयाँ पर्ने पानीको ८० रुपैयाँ, ३ सय रुपैयाँ पर्ने बिस्कुटको ६ सय रुपैयाँ लिएको पाइएको प्रशासन कार्यालयका नायव सुब्बा लक्ष्मण भुजेलले जानकारी दिए । उनका अनुसार छोकडा, काजु, किसमिसलगायतका उपभोग्य सामानसमेत आफू खुसी प्याक गरी धेरै मूल्य लिएका छन् ।विमानस्थल क्षेत्रमा खानेकुरा, फलफूल, मसला लगायतका खानेकुराहरुको अधिक मुल्य लिएर उपभोक्ताहरुलाई ठगी गरेको गुनासो आएपछि प्रशासनले अनुगमन गरेको थियो ।