छठ पर्व मनाउन प्रयोग हुने बाँसको ढक्कीमा लुकाएर लागुऔषध भित्र्याएको पाइए

अनलाईन न्युजपाटी,रौतहट,समाचारदाता,कार्तिक १३ गते।

लागुऔषध ओसारपसार तथा बेचबिखन गर्ने तस्करहरुले चाडपर्व मनाउन प्रयोग हुने सामानमा समेत लुकाएर लागुऔषध ओसारपसार गर्ने गरेको रहस्य खुलेको छ ।लागुऔषध तस्करहरुले छठ पर्व मनाउन प्रयोग हुने बाँसको ढक्कीमा लुकाएर लागुऔषध भित्र्याएको पाइएको हो ।भारतीय सिमानासँगै जोडिएको रौतहटको बंकुलस्थित सशस्त्र प्रहरी बोर्डर आउट पोष्टको गस्ती टोलीले ठुलो परिमाणमा नशालु ईन्जेक्सन बरामद गरेको हो ।पोष्टका प्रमुख सशस्त्र प्रहरी निरीक्षक दिपनरसिंह राईका अनुसार बंकुल बजारबाट करीव दुई किलोमिटर उत्तरतर्फ भकुवाखोलाको पुलछेउ मुख्य बाटोमा सशस्त्र प्रहरीले चेकजाँच गर्दा लागुऔषध फेला परेको हो ।
दुईवटा साईकलको पछाडी बाँसको ढक्कीभित्र बाँधेर दुई जनाले सामान ल्याइरहेका थिए । छठ पर्वमा बाँसको ढक्की प्रयोग गरिन्छ । सशस्त्र प्रहरीको चेकजाँच टोलीलाई देखेपछि साईकल छाडेर उनीहरु नजिकैको खेतमा काम गरिरहेका गाउँलेसँगै कुरा गर्दै त्यहाँबाट भाग्न सफल भएको सशस्त्र प्रहरीको गस्ती टोलीले जनाएको छ ।बाटोमै छोडिएका साईकलको बारेमा सोधपुछ गर्दा कोही न आएपछि शंका लागेर चेकजाँच गर्दा ठुलो परिमाणमा नशालु इन्जेक्सन फेला परेको सशस्त्र प्रहरी निरीक्षक राईले बताए । उनका अनुसार डाईजिपाम, प्रोमेथाजिन, नर्फिन ईन्जेक्सन गरी कुल ११ हजार सातसय नशालु ईन्जेक्सन तथा प्रतिबन्धित लागुऔषध बरामद भएको छ ।सशस्त्र प्रहरीको नियन्त्रणमा रहेको ती ईन्जेक्सनहरु आवश्यक कारवाहीका लागि सशस्त्र प्रहरी ११ नम्बर हेडक्वाटर जिल्ला मुख्यालयमार्फत भन्सार कार्यालय गौर पठाइने सशस्त्र प्रहरी निरीक्षक राईले जानकारी दिए । 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *