अनलाईन न्युजपाटी,सुनसरी,समाचारदाता, कार्तिक २१ गते।
सुनसरीको इटहरीमा साप्ताहिक रूपमा बिहीवार बन्द हुँदै आएको बजार अब शनिवार बन्द हुने भएको छ । उद्योग वाणिज्य संघ इटहरीले आगामी २३ गतेबाट लागू हुने गरी इटहरी बजारलाइ शनिवार बन्द गर्ने निर्णय गरेको हो ।बिहीवार बन्द हुने बजार शनिवारबाट बन्द गर्न वाणिज्य संघले व्यवसायी–व्यापारीलाई अनुरोध समेत गरेको छ । इटहरी घुम्न आउने पर्यटकलाई दृष्टिगत गर्दै बजार बन्दको समय परिवर्तन गरिएको संघले जानकारी दिएको छ । संघको निर्णयको व्यापारीहरूले स्वागत गरेका छन् । शनिवार बजार बन्द हुँदा साताको अन्य दिन पर्यटकलाई बजार घुम्न र किनमेल गर्न सजिलो हुने व्यवसायी खड्कप्रसाद ओझाले बताए ।यस अघि इटहरी बजारलाई बिहीवार वा शनिवार बन्द गर्ने विषयमा व्यवसायीहरू विभाजित भएपछि ठूलो विवाद भएको थियो । आधा व्यवसायी बिहीवारको पक्षमा र आधा व्यवसायी शनिवारको पक्षमा बाँडिएका थिए । तर, गत असार १४ गते सम्पन्न उद्योग वाणिज्य संघको निर्वाचनमा आएको मत परिणामले समेत बजार शनिवार नै बन्द गर्नुपर्ने पक्षमा बहुमत आएपछि शनिवार इटहरी बजार बन्द गर्न लागिएको हो ।