अनलाईन न्युजपाटी,उदयपुर,समाचारदाता, मंसिर १६ गते।
सुत्केरी गराउन आईतबार विहान ६ बजे उदयपुर जिल्ला अस्पताल ल्याइएकी एक महिलाको गरिवीको कारण मृत्यु भएको छ । आइतबार बिहान अस्पताल भर्ना भएकी २६ वर्षीया सरिस्मा बुढाथोकीको सुत्केरी हुनुअगावै विहान १०:३० बजे मृत्यु भएको थियो ।स्वास्थ्य सम्बन्धी हक संविधानप्रदत्त मौलिक हक हो । नेपालको संविधानको धारा ३५ मा ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन, प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुनेछ’ भनी लेखिएको छ ।यसको कार्यान्वयनको प्रयासस्वरुप महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँग दुर्गम तथा जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धार गर्ने कार्यक्रम छ । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत सञ्चालन भएको भनिएको यो कार्यक्रमको उद्देश्य ‘सुत्केरी हुने अवस्थामा स्वास्थ्य समस्या भई जोखिममा परेका महिलाको हवाई उद्धार गरी तोकिएको अस्पतालमा पुर्याएर गुणस्तरीय स्वास्थ्य सेवा दिनु रहेको’ यसको कार्यविधिबाट स्पष्ट छ । तर, अस्पताल प्रशासनले यस विषयमा कुनै चासो दिएको पाइदैन् ।राजनीतिक दलका पहुँचवाला नेता, प्रधानमन्त्री, राष्ट्रपति, दलका नेताहरुको स्वदेशमा मात्र नभएर विदेशमा समेत सरकारको पैसाले निःशुल्क उपचार हुने गरेको छ भने गरिव विपन्न जनताको सरकारी स्वास्थ्य चौकी तथा अस्पतालमा समेत उपचार पाउन नसक्दा मृत्युको शैयामा पुग्नु परेको छ । नेपालमा यस्ता कैयौं घटना घटने गरेका छन् ।