अनलाईन न्युजपाटी,बिरगंज,समाचारदाता, मंसिर २४ गते।
वीरगञ्ज महानगरपालिका–१२, मुर्लीस्थित शिवनगर टोलमा सोमबार साँझ आमा–छोरीको शव फेला परेको छ। मोहन झाको घरमा डेरा गरेर बस्दै आएका बारा कलैया उपमहानगरपालिका वडा नं. २६ सिसुवा महेशपुरका पवन साहकी अन्दाजी २२ वर्षीया श्रीमती र अढाई वर्षकी छोरी मृत भेटिएका हुन् । आमा–छोरी दुवैको शव कुहिएको अवस्थामा फेला परेको छ ।घरमा दुर्गन्ध फैलिएपछि घरबेटी झाले वडा प्रहरी कार्यालय श्रीपुरमा खबर गरेका थिए । प्रहरी निरीक्षक चक्रबहादुर मल्ल नेतृत्वको टोलीले ढोका फोडेर हेर्दा कुहिएको अवस्थामा शव भेटिएको थियो ।शव कपडाले बेरेर राखिएको थियो । घटनास्थलको प्रकृति हेर्दा केही दिन पहिले नै हत्या गरेर छाडेको जस्तो देखिएको प्रहरीले जनाएको छ ।पेन्टिङको काम गर्दै आएका पवन भने फरार छन् । घटनास्थलको मुचुल्का लगायत प्रारम्भिक अनुसन्धान शुरु गरेको प्रहरी निरीक्षक मल्लले अनलाईन न्युजपाटीलाई जानकारी दिए ।