अनलाईन न्युजपाटी,बैतडी,समाचारदाता, मंसिर २८ गते।
गृह मन्त्रालयको हतियार सङ्कलन गर्ने अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय बैतडी मातहतका प्रहरी इकाइ तथा स्थानीय जनप्रतिनिधिको सहयोगले २१६ थान सङ्ख्यामा हातहतियार सङ्कलन गरिएको हो ।
यसका साथै उपनिर्वाचनमा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी हातहतियार सङ्कलन गरिएको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कमल विष्टले जानकारी दिए । उपनिर्वाचनको समयमा ४८ हतियार र १६४ थान हतियार उपनिर्वाचनभन्दा अघि नै सङ्कलन भएका उनले बताए । सङ्कलित हतियार बढीजसो एकनाले भरुवा बन्दुक रहेका जिल्ला प्रहरी कार्यालय बैतडीले अनलाईन न्युजपाटीलाई जनाएको छ ।
साथै दुईनाले भरुवा बन्दुक र बारबोर पनि सङ्कलन भएका छन् । सङ्कलित भएका सबै हतियार जिल्ला प्रशासन कार्यालयबाट इजाजत प्राप्त रहेका जनाइएको छ । हतियार सङ्कलनपश्चात् भने हत्या–हिंसाका घटनामा कमी आउनाका साथै वन्यजन्तुको चोरी–सिकारीका घटनासमेत न्यूनीकरण हुने विश्वास गरिएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले अनलाईन न्युजपाटीलाई बताए ।