अनलाईन न्युजपाटी,सप्तरी,समाचारदाता, मंसिर ३० गते।
सप्तरीमा रक्सीले मातेर आएका पतीले कुटपिट गर्दै गरेका छोरालाई जोगाउन खोज्दा एक महिला निर्घात कुटिएकी छन् । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ८ की ३० वर्षीया मन्जुदेवी खंग पति राजकुमारबाट निर्घात कुटिएकी हुन् ।आँखा, अनुहार र शरीरका अन्य भागमा गहिरो चोट लागेका उनलाई आइतबार उपचारका लागि स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना गराइएको छ । पत्नीलाई क्रृर यातना दिने राजकुमार भने फरार छन् । उनको खोजी कार्य भइरहेको प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिए ।शनिबार मध्यराती अत्याधिक मदिरा सेवन गरि आएका पति राजकुमारले सुरुमा नाबालक छोरालाई कुट्न थाल्नुभयो, उपचारका क्रममा अस्पतालको शैया नं. २२ मा भर्ना भएकी मन्जुले भनिन्, रोक्न खोज्दा छोरालाई छाडेर मलाई नै कुट्न सुरु गर्नुभो ।’‘दैनिक मदिरा सेवन गरेर आउने पती राजकुमारलाई सम्झाउन खोज्दा यसअघि पनि पटक पटक लठ्ठी र मुडकीले पिट्नु हुन्थ्यो, यसपाली त ज्यानै लिने गरि आक्रमण गर्नुभो’, उनले रुदै सुनाइन् ।गाउँलेहरुले राजकुमार जड्याहाका साथै सन्काहा, शंकालु र अपराधिक मनोबृतीको भएको बताउँदै उनलाई अविलम्ब पक्राउ गरी कडा कारवाही गर्न माग गरेका छन् ।