अनलाईन न्युजपाटी,कैलाली,समाचारदाता, पौष ६ गते
तत्कालिन माओवादी बिद्रोहीले कैलाली जिल्ला कारागारमा आक्रमण गरेपछि त्यहाँबाट फरार भएका एक व्यक्ति १५ वर्षपछि पक्राउ परेका छन् ।पक्राउ पर्नेमा कैलालीको भजनी नगरपालिका–५ दिल बहादुर साँउद रहेका छन् ।माओवादीले २०६१ साल माघ २७ गते कैलाली कारागारमा आक्रमण गरेको थियो । आक्रमणको समयमा साँउद कारागारभित्र कैदान भुक्तान गरिरहेका थिए । माओवादीले आक्रमण गरेपछि साँउद त्यहाँबाट फरार भएका थिए ।उनले २०५५ साल फागुन ५ गते स्थानीय रतन साँउदको हत्या गरेका थिए । सोही अदालतले सोही घट्नामा २०५६ साल पुष २६ गते उनलाई २१ वर्ष ६ महिनाको कारावास सजायको फैसला गरेको थियो । अदालतको सोही फैसलापछि प्रहरीले उनलाई २०६० माघ १९ गते पक्राउ गरेको थियो । त्यसको एक वर्षपछि उनी कारागारबाट भागेर भारतमा आधार कार्ड बनाई बसिरहेका थिए ।प्रहरीले उनी घर आएको मौका छोपी आईतवार पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय भजनीको टोलीले साँउदलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । पक्राउपछि उनलाई सोही मुद्दामा कारागार चलान गरिएको छ ।